पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

बाला चतुर्दशीको अवसरमा जंगलसहिया मेला सुरु

२०८० मंसिर २३, शनिबार ०८:०४ बजे

रौतहट : रौतहटको गुजरा नगरपालिका–३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशी मेलाको सुरु भएको छ । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपति मन्दिरमा शुक्रबारदेखि चार दिने मेला सुरु भएको हो ।
लामो समयदेखि हरेक वर्ष लाग्दै आइरहेको मेला यस वर्ष पनि भव्य बनाउन मन्दिरमा लाख बत्ती बाल्न आउन भक्तजनहरुलाई आयोजकले आग्रह गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरी शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरु भएको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले जानकारी दिए । मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय, विद्युत् तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।
यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको परिवारका मानिसहरू रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाख बत्ती बालेर शतबिज छर्ने गर्दछन् ।
जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाख बत्ती बालेर शतबिज छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।
कोरोना कालमा असुरक्षाको कारण लगातार दुईबर्ष पशुपति स्थानमा मेला लाग्न सकेको थिएन । अवस्था सहज भएसँगै गतवर्ष देखि बाला चतुर्दशीको अवसरमा भव्यरुपमा मेलाको आयोजना हुँदै आएको छ ।