पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

नेपाली कांग्रेस महासमिति बैठक : पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

२०८० फाल्गुण ८, मङ्गलवार ०९:२६ बजे

काठमाडौं : नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । प्रतिवेदनमाथि आजैबाट छलफल सुरु हुनेछ ।
बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
ती प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ । समूह विभाजन गरेर छलफल हुने कांग्रेसले जनाएको छ ।
बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।
कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।
बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।