पाठशाला न्यूज
 २०८१ आषाढ ३, आइतवार    

१० महिनामा साढे २५ अर्बको रासायनिक मल आयात

२०८१ जेष्ठ १०, बिहीवार १७:०५ बजे

काठमाडौँ : चालु आर्थिक वर्षको १० महिनामा साढे २५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि वैशाखसम्म २५ अर्ब ५६ करोड रुपैयाँको रासायनिक मल आयात भएको थियो ।
गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा ६ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ ।
नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।
नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन्। यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएको छ ।

विभागका अनुसार तुर्किमिनिस्तानबाट १ अर्ब ११ करोड रुपैयाँको युरिया आयात हुँदा साउदी अरेबियाबाट १ अर्ब ११ करोड रुपैयाँको युरिया भित्रिएको छ ।
रुसबाट २ अर्ब ५५ करोडको युरिया, कतारबाट १ अर्ब ८९ करोडको र ओमानबाट ४ अर्ब ७० करोड रुपैयाँको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुनाईबाट ३ अर्ब ४६ करोड रुपैयाँको युरिया भित्रिएको छ ।
संयुक्त अरब इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ ।
टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको छ । क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपैयाँको पोटास आयात भएको छ ।
धान बाली, गहुँ बाली, तरकारी बालीलगायतका अन्य बालीमा रासायनिक मल प्रयोग हुन्छ । अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ ।

प्रत्येक वर्ष धान रोप्ने वेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ । मागअनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन् ।