पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

सीमाको विषयलाई लिएर चीन र भारतबीच मनमुटाव शुरु

२०८० फाल्गुन २६, शनिबार १०:१८ बजे

एजेन्सी : सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः मनमुटाव शुरु भएको छ । भारतले ठूलो संख्यामा सैनिक परिचालन गरेको भन्दै चीनले सीमा क्षेत्र अशान्त बनेको आरोप लगाएको छ ।
चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई लिएर भारतले थप तनाब बढाउने काम गरेको आरोप लगाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले आफूहरू शान्ति स्थापनाका लागि प्रयासरत रहे पनि भारतीय कदमले अवरोध गरिरहेको दाबी गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतले एलएसीमा ठूलो संख्यामा सेना परिचालन गरेको छ । यसअघि बिहीबार मात्रै भारतीय विदेशमन्त्री एस. जयशंकरले सीमा विवादलाई लिएर चीनमाथि आरोप लगाएका थिए। जापान भ्रमणका क्रममा उनले चीनले लिखित सम्झौता उल्लंघन गर्ने गरेको बताएका थिए ।
उनले सन् १९७५ देखि २०२० सम्म सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था रहेकोमा चीनले त्यसयता लिखित सम्झौता उल्लंघन गरिरहेको आरोप लगाएका थिए। सन् २०२० मा गलवान घाँटीमा चीन र भारतका सेनाबीच निशस्त्र रुपमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।