पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

बाघको आक्रमणबाट सासु–बुहारीको मृत्यु

२०८० पौष ९, सोमवार ०९:५६ बजे

काठमाडौं : नवलपरासी पूर्व (नवलपुर)मा बाघको आक्रमणबाट सासु–बुहारीको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ खहरे जंगलमा घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीका अनुसार विनयी त्रिवेणी गाउँपालिका–१ की ५९ वर्षीय मनावेदी पौडेल र उनकी बुहारी २९ वर्षीया विष्णु पौडेल आइतबार दिउँसो घर नजिकैको खहरे जंगलमा घाँस काट्न गएका थिए ।
घाँस काट्न गएका उनीहरु साँझसम्म पनि नफर्किएपछि स्थानीयले खोजी सुरु गरेका थिए । स्थानीयले खोजी गर्ने क्रममा सोमबार बिहान खहरे जंगलमा क्षतविक्षत् अवस्थामा दुवै जनाको शव फेला परेको हो ।
मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको देखिएको प्रहरीको भनाइ छ । शवको परीक्षणका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको छ ।