पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

मधेस प्रदेश प्रहरी प्रमुख भट्टराईमाथि तस्करहरुसँग साँठगाँठ गरेको आरोप

२०८० आश्विन २९, सोमवार १६:१३ बजे

वीरगञ्ज : मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईमाथि प्रदेशका तस्करहरुसँग साँठगाँठ गरेको आरोप लागेको छ ।
देशको राजधानीसँग सडकमार्गबाट छोटो दूरी भएकोले तस्करहरूको पहिलो रोजाइ पर्सा जिल्ला नै पर्ने भएता पनि पर्सामा कडाइ गरेर पूर्वबाट लाइन चलाउँदा त्यति बदनामी र मिडियाबाजी नहुने अड्कल काटेर डीआईजी भट्टराईले मधेस प्रदेशका पर्सा बाहेक सात वटै जिल्लाका नाका खोलेको दाबी गरिएको छ ।
एक तस्करले बताएअनुसार उनी पर्साबाट चामल र चिनीको लाइन माग्न जाँदा नपाउने तर अन्य जिल्लाको नाकाहरुबाट कपडा, काजु, मसला, दाल, हार्डवेयर र इलेक्ट्रोनिक्सका सामानहरूको खुलेआम लाइन खोलिएको छ । तस्करहरुसँग महिनावारी असुल्न मधेस प्रदेश कार्यालयले नै तीन जना प्रहरीलाई प्रदेशभर परिचालन गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार हवल्दार राजेश पटेल, राजेश यादव र देवकुमारलाई प्रदेशभर परिचालन गरिएको हो ।

पर्साका ग्रामीण इलाकाहरुबाट छिटफुट कामहरु भएता पनि बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, पथलवा घाट, खजानी, वेलदारी, मटिअर्वा, छतवा, मुसहर्वा नाका पूर्णरुपले खुला गरिएको छ । त्यस्तै रौतहट जिल्लाको मुख्य भन्सार लक्ष्मीपुर, वन्जारहा, जयनगर औरैया, मढिया मोहेलीया, वंकुल नाका खुला गरिएको छ । त्यसैगरी सर्लाही जिल्लाको वलरा, वाराउदोरण, हरनाहा, मधुवनी गाउँ, फेनहारा, मधुवन गोढ, भारसर त्रिभुवन नगर, पारसा, नारायणपुर, गोरखकाली, मधुवन भन्सार संग्रामपुरबाट खुलेआम तस्करी भइरहेको छ ।
महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखर भिण्डा रधुनाथपुरबाट लाइन चलिरहेको छ । जनकपुरधामबाट जटही नाका, जयनगर, मुखियापट्टि, खजुरी, फुलन्गावा हर्ने हरनाहीबाट व्यापक काजु र कपडाको लाइन चलिरहेको छ । सिरहा जिल्लाको माडर, ठान्डी वियापट्टी, सुखिपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।
गत शनिबार बिहान माडर भन्सार कार्यालय नजिकै एक सामुदायिक विद्यालयको बगैँचाबाट ५० लाखको कपडा र चोहर्वा चौक नजिकबाट अन्दाजी ६० लाख बराबरको कपडा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले बरामद गरेपछि सिराहा जिल्लाबाट कुन हदसम्मको सुरक्षाकर्मीहरूको मिलिभगतमा तस्करी भइरहेको तथ्यलाई पुष्टि गर्दछ ।
सप्तरी जिल्लाको तिलाढी, कोद रकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट पनि व्यापक मात्रामा तस्करी भइरहेको छ ।
मधेस प्रदेशको नेपाल प्रहरीमा नयाँ नेतृत्व आउने हल्ला चलेसँगै यहाँबाट व्यापक तस्करी भइरहेको प्रहरी स्रोत बताउँछ ।
तर डीआई भट्टराईले भने यस्तो सूचनामा सत्यता नभएको दाबी गरेका छन् । उनले कसैलाई पनि कहीँ परिचालन नगरिएको बताए । उनले भने, ‘त्यस्तो चाहिँ केही परिचालन गरिएको छैन । ती सबै जिल्लाको हातमा हुन्छन् । जिल्लाले हेर्ने हुन् । हामीले चाहिँ जिल्लाको एसपीलाई टाइट गर भन्ने हो । सबै जिल्लाले गर्ने हो ।’ डीआईजी भट्टराईले थप स्पष्ट पार्दै भने, ‘ती सबै गलत कुरा हुन् । सबै जिल्लाका एसपीलाई सोधे पनि हुन्छ । बुझे पनि हुन्छ । कोही मान्छे यहाँबाट खटिएका पनि छैनन् । जिल्लाकै एसपीहरुले हेर्ने हो गर्ने हो । जिल्लाका एसपीहरुलाई हामीले भनिसकेका छौँ सबै ।’

आफूले सबै जिल्ला हेर्न पनि नसक्ने भन्दै आवश्यकताअनुसार छड्के पठाउने गरेकोसमेत बताए । उनले भने, ‘यहाँबाट मैले आठ जिल्ला हेर्न पनि भ्याइँदैन । हेर्ने जिल्लाका एसपीले हो । एसपीलाई सर्वाधिक अधिकार हुन्छ । हामीले बरु छड्के चाहिँ बेलाबेलामा पठाउने गर्छौँ ।’