पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

थाइल्यान्ड भ्रमणमा जाने नेपाली नागरिकको संख्या ह्वात्तै बढ्यो

२०८० चैत्र २७, मङ्गलवार ०९:०० बजे

काठमाण्डौं- थाइल्यान्ड भ्रमणमा जाने नेपाली नागरिकको संख्या ह्वात्तै बढेको छ ।
थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयका अनुसार सन् २०२४ को जनवरी र फेब्रुअरी महिनामा थाइल्यान्डमा विश्वभरबाट ६३ लाख ८७ हजार पर्यटक थाइल्यान्ड भ्रमणमा पुगेका छन् । यी दुई महिनामा नेपालबाट मात्र ६ हजार ८६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन् ।
सन् २०२३ को दुई महिनामा ४ हजार ३६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका थिए । यस वर्ष जनवरीमा ३ हजार ७५१ र फेब्रुअरीमा ३ हजार १०९ जना नेपाली थाइल्यान्डको भ्रमणमा गएका छन् । यो अघिल्लो वर्षको तुलनामा क्रमशः ९१.६७ प्रतिशत र २९.३८ प्रतिशत धेरै हो ।
थाइल्यान्डमा सबैभन्दा धेरै चिनियाँ नागरिक पुगेको देखिएको छ । दुई महिनामा ११ लाख ८३ हजार १२१ जना चिनियाँ नागरिकले थाइल्यान्ड भ्रमण गरेका छन् । चिनियाँ नागरिकको यो संख्या गत वर्षको तुलनामा निकै धेरै हो । यस वर्ष गत वर्षको तुलनामा जनवरीमा ५४३ र फेब्रुअरीमा ३३३ प्रतिशत धेरै चिनियाँ नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन् । दक्षिण एसियाबाट सबैभन्दा धेरै भारतीय नागरिक थाइल्यान्ड भ्रमणमा पुगेका छन् । तथ्यांक अनुसार दुई महिनामा ३ लाख ११ हजार ८२३ जना भारतीय थाइल्यान्ड भ्रमणमा पुगेका छन् ।