पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

पर्सामा कोरोना संक्रमित भेटिएपछि सीमानाकामा बढाइयो निगरानी

२०८० माघ १, सोमबार २०:४२ बजे

वीरगञ्ज : कोरोनाका नयाँ संक्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ ।
भारतको विभिन्न स्थानमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गर्न थालिएको छ । भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए ।
उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारत यात्राबाट आउनेलाई शुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।
संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म ५ हजार २०५ जनाको स्क्रिनिङ गरिएको जानकारी दिए ।
जसमध्ये २ सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधवार २ भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए । हेल्थ डेस्कमा हाल २ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, २ जना ल्याब टेक्निसियन र एकजना ल्याब असिस्टेन्ट गरी ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलांगनालगायत राज्यमा पुनः कोरोना संक्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।