पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

जगरनाथपुर हत्या प्रकरणमा संलग्न तीन जना आरोपी पक्राउ

२०८१ आषाढ १९, बुधवार २२:३१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- पर्साको जगरनाथपुर गाउँपालिका वडा न-५ मा करिब २३ दिन अगाडि भएको २ जना मानिसको हत्यामा संलग्न तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्सा प्रहरीले असार १९ गते बुधवार एक पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकार सहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो।

पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोष प्रसाद कुम्हार र महादेव महतो नुनिया तथा बारा कलैया वडा न:- ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

पक्राउ परेका तीन जनासहितको समुहले यही ज्येष्ठ २९ गते बारा जिल्लाको कलैयाका रामएकबाल पण्डित कुम्हार र उनको साथी आदर्शकोतवाल घर भइ कलैया बस्दै आएका सुरेश ठाकुरको हत्या गरेको रहस्य पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका एस.पी कुमोध ढुंगेलले बताएका छन्।

घरमा पुजागर्ने बहानामा उनिहरुलाई बोलाएर हत्या गरिएको हो भने तथ्य पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो। पर्साका प्रहरीले जानकारी गराए अनुसार मृतक रामएकबालको भतिजो पर्ने लक्ष्मण प्रजापति र ज्वाईपर्ने सन्तोष कुमारको योजना अनुसार दुवैजनाको हत्या भएको देखिन्छ। 

प्रहरीमा लक्ष्मणले गरेको वयान अनुसार शुरुमा बुवाको मृत्यु अनि त्यसपछि अढाईवर्षको छोराको मृत्यु र घरमा रहेका गाई-वस्तुहरु समेत मर्न थालेपछि हामीलाई पक्कैपनी हाम्रो काका रामएकबालले जादुटोना गराएर मार्न लगाएका हुन् जस्तो लाग्न थाल्यो अनि मैले मेरो भिनाजु सन्तोष कुमारसँग मिलेर हत्याको योजना बनाई काकालाई आठलाखको सुपारी दिएर अन्य व्यक्तिहरुको संलग्नतामा हत्या गरेको भनि प्रहरीलाई बताएका छन्। 

वयानमा सुपारी दिने रकम मध्ये चारलाख मैले र चारलाख भिनाजु सन्तोष कुमारले दिएका हौ भनि पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानमा लक्ष्मणले बताएका छन्। हाल पक्राउ परेका तिनैजनालाई म्यादथप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेल ल पत्रकार सम्मेलन गर्दै बताएका छन्।