पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा आज पेस हुँदै

२०८१ जेष्ठ १, मङ्गलवार ०७:१६ बजे

काठमाडौं- सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा आज पेस हुँदैछ ।

दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि संसदभित्र आगामी ३ गतेदेखि ९ गतेसम्म छलफल गर्ने कार्यसूची बनाइएको छ । जेठ १५ गते भने बजेट ल्याउनै पर्ने संवैधानिक वाध्यता छ ।

तर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता पक्षले आफ्ना माग पुरा नगरेको भन्दै संसद अवरोध गर्दै आएको हो। यसबीच दलीय छलफल भएपनि दुवै पक्ष आफ्ना अडानमा टसको मस नभएपछि आजको बैठकमा के होला ? आम चासो बढेको छ।

कांग्रेसको हिजो बसेको पदाधिकारी बैठकले संसदीय समिति गठन नभएसम्म जे सुकै भएपनि सदन चल्न नदिने निर्णय गरेको थियो । यद्यपी कांग्रेसले बिहान संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ बजे सिंहदरवारमा बस्ने बैठकले कांग्रेसको भावी भूमिका तय गर्ने छ ।

कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा प्रतिवाद गरिरहेका छन् ।

हिजो दिनभरजसो भएका छलफलले कुनै निकास निकाल्न नसकेपछि आज थप छलफल हुने बताइएको छ ।

दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम बढेको छ ।