पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी पुरा, ४० लाख खर्च हुने अनुमान, २२ वटा होटल बुक

२०८० आश्विन २३, मङ्गलवार १७:०६ बजे

जनकपुरधाम/धनुषा- यहि असोज २४ र २५ गते धनुषाको जनकपुरधाममा हुने नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

जनकपुरधाममा आयोजना भएको एक पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष रामअवतार यादवले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उक्त अधिवेशनमा जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च तथा कम्तिमा ७ हजार मानिस अटाउने पण्डाल बनाइएको छ ।   

मधेश प्रदेशको आठवटै जिल्लाबाट अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ भने प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

उक्त अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ जसका लागि  प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँका दरले रकम सङ्कलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग सङ्नकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताएका छन् ।