पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

अमेरिकी दूतावासको चलचित्र ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन

२०८० भाद्र ८, शुक्रवार १७:४३ बजे

काठमाडौँ–अमेरिकी दूतावासले नियमित आयोजना गरेको समर मुभी सिरिजअन्तर्गत अन्तिम चलचित्रको रूपमा स्टिभन स्पिलबर्ग निर्देशित हलिउड चलचित्र ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन गरिएको छ । बिहीबार बेलुका ललितपुरको पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा सो चलचित्रको प्रदर्शन गरिएको हो ।
सन् १९५७ को न्युयोर्क सहरको परिवेशलाई चित्रण गरिएको सो चलचित्रमा श्वेत अमेरिकी र गहुँगोरो वर्णका पुएर्तोरिकन ग्याङस्टरले वर्चस्वको लागि लड्ने लडाइँको कथा र दुई समुदायका युवायुवतीबीचको प्रेममार्फत सहिष्णुताको सन्देश दिने कथा रहेको छ । सो चलचित्र ९४ औं ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्म र सहायक अभिनेत्रीसहितका सात विधामा मनोनित भएको थियो । यसमा एनसेल एलगर्ट, रचेल जेगलर, एरिआना डिबोस, डेभिड अल्भारेजको प्रमुख अभिनय रहेको छ ।
दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले यस वर्षको समर मुभी सिरिज सकिएको बताए ।