पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

रौतहटको राष्ट्रिय वनबाट कर्मचारीकै सेटिङमा खयरको रुख गायव

२०८० माघ ११, बिहीबार ०९:५० बजे

रौतहट : रौतहटको राष्ट्रिय वनबाट बहुमूल्य मानिएका खयरका दर्जनौँ काँचा रुख काटिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने फूलबारीमाथि रहेको महादेव डाँडामा बहुमूल्य जातका दर्जनौँ खयरका रुख काटिएको पाइएको छ ।
स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा तस्कर समूहले खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य खयरका रुखहरु काटिएका हुन् ।
जुडीबेला सब–डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेर रमितेमात्र बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
तस्कर समूहले चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलिया बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्यत्र तस्करी गर्ने गरेको स्थानीयले बताए ।

रौतहटको चुरे क्षेत्रमा खयरका रुख काटिएको विषयमा जुडिबेला सब–वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको भन्दै पन्छिएका छन् ।
आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले १/२ वटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोले जवाफ दिए ।
रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।
यता चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटार सब–डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट पनि तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीयले बताए । सो वनमा पनि खयर तस्करी गर्ने गिरोह नै सक्रिय भएको स्थानीय बासिन्दाहरुले बताउँछन् ।