पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

आज घोडे जात्रा, काठमाडौं उपत्यकामाविभिन्न कार्यक्रम गरी मनाइँदै

२०८० चैत्र २६, सोमबार ०७:०८ बजे

काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार घोडे जात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
चैत्र कृष्ण औँसीका दिन पर्ने घोडेजात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।