पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

रातमा भन्दा दिनमा शरीर फूर्तिलो हुन्छ किन ?

२०८० फाल्गुन २९, मंगलबार २०:०९ बजे

एजेन्सी : मानौं, हाम्रो शरीर एक यन्त्र (मेसिन) हो । जस्तो कि यन्त्रलाई पूर्ण रुपले उत्पादनशील बनाउन केही समय विश्राम दिनुपर्ने हुन्छ । हाम्रो शरीरले पनि ठीक यसैगरी काम गर्छ । अर्थात् शरीरलाई चलायमान र जीवित राखिरहनका लागि केही समयका विश्राम जरुरी हुन्छ ।
जस्तो, तपाईंले आज पर्याप्त निद्रा लिनुभएन भने भोलिपल्ट तपाईं उत्तिकै ताजा र स्फूर्ति महसुस गर्न सक्नुहुन्न । अल्छी लाग्छ, शिथिल महसुस हुन्छ । यसले तपाईंको भोक लाग्ने प्रक्रियालाई पनि असर गर्छ । यसरी शरीरको आन्तरिक प्रणालीलाई नियमन र व्यवस्थित गर्ने एक अदृश्य तत्व हुन्छ, जसलाई सर्केडियन रिदम भनिन्छ ।
राति निद्रा लाग्नु, बिहान निद्रा खुल्नु, शरीरको तापमान कायम राख्नु, भोक लाग्नु, खाना पच्नु, जाँगर चल्नु, अल्छी लाग्नु, फूर्ति हुनु, शिथिल हुनु आदिमा यसैको भूमिका हुन्छ । यो मस्तिष्कको आन्तरिक घडी हो, जसले २४ घण्टाको चक्रमा शरीरलाई एउटा प्रक्रियामा डोर्याउन सूचित गरिरहेको हुन्छ ।

सर्केडियम शब्द ल्याटिन फ्रेज ‘सर्का दीम’बाट लिइएको हो । यसको अर्थ हुन्छ, ‘लगभग एक दिनमा ।’ सर्केडियम रिदम वा जैविक घडी त्यही हो, जो बाहिरी वातावरणको प्रतिक्रियामा कुनै जीवको सुत्ने र उठ्ने चक्र, अन्तस्रावी र पाचन मार्ग (मेटाबोलिक पथ) लाई नियन्त्रण गर्ने एक प्रक्रिया हो ।
यसलाई अझ सरल भाषामा बुझौं । एक रात र एक दिनको जुन समय चक्र हुन्छ, त्यही अनुसार हाम्रो शरीरले पनि तालमेल मिलाउने गर्छ । बिहान, दिउसो, साँझ, रातको समय अनुसार हाम्रो शरीरमा फरक फरक प्रतिक्रिया हुन्छ । सर्केडियन रिदमले हाम्रो मस्तिष्कलाई दिनको समयमा सर्तक रहन सूचित गर्छ । त्यही कारण हामी दिनभर चुस्त र फूर्तिलो महसुस गर्छौं । जबकि रातको समय वा अँध्यारोमा हाम्रो मस्तिष्कले शरीरलाई विश्रामको संकेत गर्छ । तब हामी सुस्त र सिथिल हुँदै जान्छौं ।
यसको गडबडीले स्वास्थ्यमा प्रभाव
जब सर्केडियन रिदममा गडबडी हुन्छ, त्यसले शरीरको विभिन्न भागमा असर गर्छ । मानौं तपाईं राम्ररी सुत्न पाउनुभएन वा शरीरलाई पूर्ण विश्राम दिनुभएन भने त्यसले तपाईंको मनस्थितिमा असर गर्छ । मुड खराब गर्छ । पाचन प्रक्रियामा बाधा गर्छ । खाएको कुरा राम्ररी पच्दैन ।
सर्केडियन रिदम गडबड हुनासाथ हाम्रो मेटाबोलिज्ममा त्यसको सोझो असर गर्छ । मेटाबोलिज्म भनेको शरीरको खाना पचाउने प्रक्रिया हो ।
सर्केडियन रिदमले हाम्रो शरीरिक क्रियाहरुको आफ्नै तालिका बनाएको हुन्छ । त्यसैले यसको गडबड हुनासाथ शरीरमा विभिन्न अवरोध देखापर्छ । जस्तो, कसैले आफूले नियमित खाइरहेको तालिकाभन्दा फरक समयमा खाना खाँदा रगतमा रहेको ग्लुकोजको चक्रलाई परिवर्तन गर्न सक्छ । रात्रिकालीन काम गर्नेहरुमा तौल बढ्नुको कारणमध्ये यो पनि एक हो ।
शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी
सर्केडियन रिदमलाई असर गर्ने कारक
बिहान सही समयमा उठ्ने, राति सही समयमा सुत्ने क्रममा अनियमित हुँदा शरीरको सर्केडियन रिदममा गडबड हुन्छ ।यसले हृदयसम्बन्धी विकार पनि पैदा गर्छ । त्यस्तै अनियमित दिनचर्या, खानपान, खराब जीवनशैलीले पनि यसलाई असर गर्छ ।
औसत सात घण्टाभन्दा कम सुत्ने मानिसमा भिटामिन ए, डी र बी १, साथै म्याग्नेसियम, क्याल्सियम, जिङ्क र फस्फोरसको कमी हुन्छ । साथै भोक लाग्ने स्थिति वा पाचन क्रिया, मानसिक सतर्कता, हृदय नियन्त्रण, प्रतिरक्षा जस्ता कुराहरु गडबड हुन्छ । शरीरको प्राकृतिक सामान्य चक्रमा बाधा पुग्दा विभिन्न स्वास्थ्य समस्या आउँछ ।
सर्केडियन रिदम राम्रो बनाउने उपाय
–दैनिक सातदेखि आठ घण्टासम्म गहिरो निद्रा लिने ।
–व्यायाम गर्ने ।
–नियमित तलिकाअनुसार खाना खाने ।
–राति अबेर खाना खाने वा ढिलो सुत्ने बानी त्याग्ने ।
–प्रत्येक दिन ३० मिनेट घाम ताप्ने र सक्रिय रहने प्रयास गर्ने ।
–सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खाना खाने ।