पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

जाडो मौसममा स्वस्थ रहने यी १० घरेलु तरिका

२०८० पौष ६, शुक्रबार ११:०८ बजे

एजेन्सी : मौसमअनुसार स्वास्थ्यमा देखिने समस्याहरु फरक–फरक हुन्छन् । चिसो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् ।
तर हामीले आफ्नो दैनिकीलाई मौसम अनुकुल बनाउने हो भने चिसो मौसममा हुने स्वास्थ्य समस्याबाट पनि आफूलाई सजिलै जोगाउन सकिन्छ । यो आलेखमा चिसो मौसममा स्वस्थ रहन अपनाउनुपर्ने उपायबारे चर्चा गरिएको छ ।
१.शरीरलाई क्रियाशील राख्ने
जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।
२.खानपानमा ध्यान दिने
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
३.वजन बढ्न नदिने
जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।
४.पर्याप्त सुत्ने
वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

५.छाला स्वस्थ राख्ने
जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।
६.तातो पानी पिउने
जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ । तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ । जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ । साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ। जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।
७.तनावरहित हुने
तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ ।
८.रक्तसञ्चार सुचारु राख्ने
जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ । यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ । रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पुर्याउँछ ।
९.न्यानो कपडा लगाउने
कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ। न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।

१०.बिरामीबाट परै रहने
रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ ।