पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इजरायलद्वारा गाजामा सेतो फस्फोरसको प्रयोग गरि गम्भिर मानव अधिकारको उल्लंघन: मानव अधिकार संगठन ह्युमन राइट्स वाच

२०८० आश्विन २७, शनिवार २३:०३ बजे

काठमाडौं- इजरायलले गाजा र लेबनानमा सैन्य कारबाहीमा सेतो फस्फोरस प्रयोग गरिरहेको मानवअधिकार संगठन ह्युमन राइट्स वाचले जनाएको छ । 

ह्युमन राइट्स वाचका अनुसार यस्ता हतियारको प्रयोगले मानिसलाई गम्भीर चोटपटक लाग्न सक्छ। 

ह्युमन राइट्स वाचले गाजामा सेतो फस्फोरसको प्रयोगले विश्वको सबैभन्दा सघन जनसङ्ख्या भएको इलाकामा नागरिकलाई जोखिम बढाएको र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको बताएको छ।

सेतो फस्फोरस वायुमण्डलीय अक्सिजनको सम्पर्कमा आउँदा प्रज्वलित हुन्छ । रासायनिक प्रतिक्रियाका कारण प्रज्वलित भई ज्वालाहरु सिर्जना हुने गर्दछ । यस्तो रासायनिक प्रतिक्रियाले तीव्र गर्मी (लगभग ८१५°C/१४९९°F), प्रकाश र हानिकारक धुवाँको सिर्जना गर्दछ भने बाक्लो सेतो धुवाँ र लसुनको जस्तो गन्ध सेतो फस्फोरसका विशेषताहरू हुन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएका र ह्युमन राइट्स वाचद्वारा प्रमाणित गरिएका भिडियोहरूको समिक्षा गर्दा प्रत्येक १५५ एमएम सेतो फस्फोरस आर्टिलरी प्रोजेक्टाइलहरु प्रयोग भइरहेको देखाउँछ । अक्टोबर १० र ११, २०२३ मा लेबनान र गाजामा लिइएको प्रमाणित भिडियोहरूमा गाजा शहर र इजरायल-लेबनान सीमानाका दुई ग्रामीण स्थानहरूमा तोपबाट चलाइएको सेतो फस्फोरसको एयरबर्स्टहरू देखिएको छ । 

ह्युमन राइट्स वाचका मध्य पूर्व र उत्तर अफ्रिकाका निर्देशक लामा फकिहका अनुसार "जतिबेला भीडभाड भएका नागरिक क्षेत्रमा सेतो फस्फोरसको प्रयोग गरिन्छ, यसले भयानक जलन र जीवनभरको पीडाको उच्च जोखिम निम्त्याउँछ।" "सेतो फस्फोरसको प्रयोग गैरकानूनी छ जब यो सघन जनसंख्या भएको शहरी क्षेत्रहरूमा हावामा विस्फोट हुन्छ, त्यहाँ यसले घरहरू जलाउन सक्छ र नागरिकहरूलाई गम्भीर क्षति पुर्‍याउन सक्छ।"  

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायली सेनालाई यी आरोपहरूको बारेमा सोधपुछ गर्दा सेतो फस्फोरसको प्रयोग भएको जानकारी नभएको जनाएको छ ।

उता इजरायली अधिकारीहरूले जारी लडाइँमा सेतो फस्फोरस प्रयोग गरे वा गरेनन् भनेर हालसम्म टिप्पणी गरेका छैनन्।