पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इजरायल र हमासको आक्रमणमा कुन देशका कति मारिए? कति बेपत्ता भए ?

२०८० आश्विन २३, मङ्गलवार ११:१३ बजे

काठमाडौं- हमास लडाकुहरूले इजरायलमा गरेको अप्रत्याशित आक्रमणपछि दर्जनौं विदेशी मारिएका, बेपत्ता वा बन्धक बनाएको विवरणहरु सार्वजनिक भएको छ। 

हमासको आक्रमणबाट हालसम्म इजरायलमा ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने इजरायली सेनाले गाजामा गरेको जवाफी हमलामा हालसम्म झण्डै ७०० जनाको मृत्यु भएको छ ।

मारिएका र बेपत्ता भएका धेरै विदेशीहरू शनिबार हमासको आक्रमण सुरु हुँदा दक्षिणी इजरायली मरुभूमिमा एक संगीत महोत्सवमा भाग लिइरहेका थिए।

हालसम्म मृत्यु भएका र बेपत्ताहरुको सार्वजनिक भएको विवरणहरु 

अर्जेन्टिना: सातको मृत्यु, १५ बेपत्ता

अर्जेन्टिनाका विदेशमन्त्री स्यान्टियागो काफिरोले सोमबार इजरायलमा भएको आक्रमणमा सात अर्जेन्टिनीको मृत्यु भएको र १५ जना अझै बेपत्ता रहेको बताएका छन् । स्यान्टियागोका अनुसार इजरायलमा करीव ६२५ अर्जेन्टिनी नागरिकहरूले स्वदेश फिर्ताको लागि सरकारसँग अनुरोध गरेका छन् ।

ब्राजिल: ३ बेपत्ता

ब्राजिलको विदेश मन्त्रालयले म्युजिक फेस्टिभलमा भाग लिएका ब्राजिल र इजरायलको दोहोरो नागरिकता लिएका ३ जना नागरिक बेपत्ता भएको बताएको छ।

कम्बोडिया: १ जनाको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले एक कम्बोडियाली विद्यार्थी इजरायलमा मारिएको बताएका छन्।

क्यानडा: १ जनाको मृत्यु, ३ बेपत्ता

क्यानडा सरकारले १ क्यानेडियनको मृत्यु भएको र ३ जना बेपत्ता भएको बताएको छ।

चिली: २ बेपत्ता

चिलीको विदेश मन्त्रालयले सोमबार आफ्ना दुई नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। ति नागरिक दम्पती रहेको र गाजासँगको इजरायलको सिमानाबाट टाढा किबुट्जमा बस्ने गरेका थिए ।

कोलम्बिया: २ बेपत्ता

कोलम्बियाली सरकारले सुपरनोभा महोत्सवमा सहभागी दुई कोलम्बियाली बेपत्ता भएको पुष्टि गरेको छ र उनीहरुको खोजी भइरहेको छ ।

फ्रान्स: २ जनाको मृत्यु, १४ बेपत्ता

आक्रमणमा २ फ्रान्सेली व्यक्तिको मृत्यु भएको फ्रान्सेली सरकारले जनाएको छ । त्यसैगरी १२ वर्षीय बालक सहित बेपत्ताको सङ्ख्या १४ रहेका छन्। फ्रान्सेली विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, "हामीसँग भएको जानकारीको आधारमा, हामी ती मध्ये केही अपहरण भएको धेरै सम्भावना भएको ठान्छौं," यो संख्या अझै परिवर्तन हुन सक्ने बताएको छ।

जर्मनी: धेरै बन्धकहरू

जर्मन विदेश मन्त्रालयका अनुसार दोहोरो नागरिकता भएका जर्मन-इजरायली नागरिकहरू धेरैको सङ्ख्यामा बन्धक बनाइएको छ । 

आयरल्याण्ड: १ बेपत्ता

एक आयरिश-इजरायली महिला आयरिश सरकारले बेपत्ता भएको पुष्टि गरेको छ।

इटाली: २ बेपत्ता

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुई इजरायली-इटालियन बेपत्ता भएको र फेला नपरेको बताएकाे छ । 

मेक्सिको: २ बन्धक

मेक्सिकोका विदेशमन्त्री एलिसिया बार्सेनाले सामाजिक सञ्जालमा थप विवरण नदिई दुईजना मेक्सिकन जसमा एक पुरुष र एक महिलालाई बन्धक बनाएको बताइन्।

नेपाल: १० जनाको मृत्यु, एक बेपत्ता

हमास लडाकुहरूले आक्रमण गरेको स्थानमध्ये एक किबुट्ज अलुमिममा १० नेपाली नागरिकको मृत्यु भएको तेल अवीवस्थित नेपाली दूतावासले जनाएको छ। अन्य ४ नेपालीको अस्पतालमा उपचार भइरहेको छ भने पाँचौंको खोजी भइरहेको दूतावासले जनाएको छ ।

पनामा: १ बेपत्ता

पनामाको सरकारले आफ्ना एक नागरिक ड्यारेलिस डेनिस सेज बटिस्टा बेपत्ता भएको बताएको छ।

पाराग्वे: २ बेपत्ता

पाराग्वे सरकारले इजरायलमा बस्दै आएका आफ्ना दुई पराग्वेली नागरिक बेपत्ता भएको जनाएको छ । ति नागरिकको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

पेरु: २ बेपत्ता

पेरुको विदेश मन्त्रालयले आफ्ना दुई नागरिक बेपत्ता भएको बताएको छ । ति नागरिकको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

फिलिपिन्स: ७ बेपत्ता

फिलिपिन्सको विदेश मन्त्रालयले सात फिलिपिन्स नागरिक बेपत्ता भएको र फोन वा सामाजिक सञ्जालमा समेत सम्पर्क गर्न नसकिएको बताएको छ। ३० हजार भन्दा बढी फिलिपिनो नागरिकहरू इजरायलमा बस्दै आएका छन् । प्रायः स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्छन्। मन्त्रालयले एक ट्राभल एडभाइजरी जारी समेत गरेको छ जसमा फिलिपिन्स र इजरायल बीचको सबै माध्यमबाट हुने यात्रा अनिश्चितकालका लागि स्थगित गर्न सिफारिस गरेको छ।

रुस: १ जनाको मृत्यु, ४ बेपत्ता

कम्तिमा एक रूसीको मृत्यु भएको छ र ४ जना बेपत्ता छन् । 

तान्जानिया: २ बेपत्ता

इजरायलका लागि तान्जानियाका राजदूतले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई दुई तान्जानियाली नागरिक बेपत्ता भएको बताए।

थाइल्याण्ड: १२ जनाको मृत्यु, ११ बन्धक

१२ थाई कामदारको मृत्यु, आठ घाइते र ११ जनालाई बन्दी बनाएको थाइल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता कञ्चना पत्राचोकेले सोमबार बताइन्। लडाईबाट प्रभावित क्षेत्रमा काम गर्ने अनुमानित ५,००० थाई कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । थाइल्याण्डका श्रम मन्त्री फिफाट रत्चकितप्रकर्णले भने।

युक्रेन: २ जनाको मृत्यु

वर्षौंदेखि इजरायलमा बस्दै आएका दुई युक्रेनी महिलाको हत्या भएको युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताए ।

युनाइटेड किंगडम: १ मृत्यु, १ बेपत्ता

इजरायली सेनामा कार्यरत एक बेलायती २० नागरिक २० वर्षीय नथानियल यंग हमाससँगको लडाइमा मारिएका थिए । बेलायतका लागि इजरायलका राजदूतले अर्का २६ वर्षीय युवक बेपत्ता भएको बताए ।

संयुक्त राज्य अमेरिका: ११ जनाको मृत्यु, अन्य बेपत्ता

अमेरिकाले कम्तिमा ११ अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ र हमासले बन्धक बनाइएकामध्ये उनीहरूका नागरिकहरू पनि हुन सक्ने "सम्भावना" रहेको बताएको छ।