पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

किन मनाइन्छ शिवरात्रि ?

२०८० फाल्गुण २५, शुक्रवार १२:३५ बजे

काठमाण्डौ : शिवसँग रात शब्द जोडिएको छ । किनभने उनले अज्ञानको कालो रातमा संसारमा आउने विश्वास गरिन्छ । जब मानवसहित सारा संसार अज्ञानताको रात अर्थात् मायाको नियन्त्रणमा आउँछ, जब पाँच विकृतिको प्रभावले सबै आत्मा अपवित्र हुन्छन्, जब हामीले पवित्रता र शान्तिको साँचो धर्मलाई बिर्सिन्छौं । तब आध्यात्मिक वास्तविक पहिचान हराउँछ । यस्तो समयमा मात्र भगवानले हामीलाई जगाउन, सम्पूर्ण मानवताको उत्थान गर्न र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत्य धर्मको पुनः स्थापना गर्न सामान्य शरीरमा प्रवेश गर्ने पूर्वीय दर्शनले भन्छ ।
हाम्रो जीवनमा पनि दुई शक्तिले काम गरेको हुन्छ । एउटा प्राण शक्ति र अर्को जीवन शक्ति । प्राण शक्तिलाई बिस्तारै उठाएर महाप्राणमा माथिल्लो चेतनासँग जोड्न शिवरात्रि अत्यन्त महत्वपूर्ण छ ।
भनिन्छ, शिवरात्रिको रातमा हाम्रो आत्मा र प्रकृतिको दूरी घटेको हुन्छ । प्रकृतिको ऊर्जासँग जीवनको ऊर्जा मिसिएको हुन्छ । त्यसकारण अरुबेला प्रकृतिबाट टाढा जाने ऊर्जाको लय, गति वा तरंग यतिखेर नजिक आइरहेको हुन्छ । त्यसकारण शिवरात्रिमा उत्सव मनाउँदा ऊर्जावानको अनुभूति हुन्छ । हामीसँग अनेकौं प्राणशक्तिको रुप छ । शरीरमा पनि धेरै किसिमका अग्नि छन् । कागनि, देहाग्नि, प्राणग्नि । यी अग्निलाई हामी त्यो रात आगो तापेर भित्रको अग्निलाई जगाउँछौं । जसकारण यो पर्व निकै महत्वपूर्ण छ ।