पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

सर्लाहीको बरहथवा घटना : ११ बुँदे सहमति‚ परिवारले बुझ्यो शव,आज अन्त्येष्ठि

२०८० पौष २३, सोमबार १०:५८ बजे

काठमाडौँ : मृतकका परिवारसँग ११ बुँदे सहमति भएसँगै सर्लाहीको बरहथवा क्षेत्र शान्त बनेको छ ।
गत शुक्रवार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा आईतवार दिनभरि तनावग्रस्त बनेको थियो ।
मृतकका परिवार र स्थानीय प्रशासनबीच आइतवार साँझ एघारबुँदे सहमति भएसँगै बरहथवा क्षेत्र शान्त बनेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
सहमतिअनुसार प्रादेशिक अस्पताललाई मृतक जयशंकर साह नामकरण गर्ने, परिवारले चाहेको स्थानमा मृतकको शालिक निर्माण गर्ने, मृतकका परिवारमा रहेका आश्रित परिवारका एकजना सदस्यलाई रोजगारी दिने, घटनाको निष्पक्ष छानबिन गर्नेलगायत विषयमा सहमति भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले जानकारी दिए ।

सहमति भएसँगै मृतक शाहको शव उनको परिवारले बुझेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको कर्फ्यू भने आज (सोमवार) दिउँसो पौने १ बजेसम्मका लागि यथावत रहने सहायक प्रजिअ अधिकारीले बताए ।

तीन दिन पछि साहको शव आइतवार परिवारलाई जिम्मा लगाएपछि आज अन्त्येष्ठि गरिँदै छ। अन्त्येष्ठि अघि उनको शव यात्रा निकालिएको छ।