पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

५५ अर्बको लागतमा ८० किलोमिटर लामो केबलकार बन्दै

२०८० फाल्गुण ११, शुक्रवार २०:०३ बजे

पर्वत : कास्कीको बीरेठाँटीदेखि मुस्ताङको रानीपौवासम्म करिब ५५ अर्बको लागतमा केबलकार निर्माणका लागि प्रक्रिया चलिरहेको छ ।
उक्त केबलकार मुक्तिनाथ केबलकार प्रा.लि.ले निर्माण गर्न लागेको हो । यसका अध्यक्ष डा. अरुण सुवेदीका अनुसार यसको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र डिपिआर तयार पारेर सरकारलाई बुझाइसकिएको छ । केबलकार निर्माण गर्दा प्रयोग गर्नुपर्ने जग्गाको नापजाँच र खरिदको काम भइरहेको छ ।
कास्की, पर्वत, बागलुङ र म्याग्दी गरेर चार जिल्लामा बन्ने यो केबलकारमा ८० किलोमिटरको दूरीमा विभिन्न ठाउँमा चढ्ने र ओर्लन मिल्ने स्टेशन सहित निर्माण हुनेछ । यो केबलकारमा बीरेठाँटीबाट चढेर मुस्ताङको रानीपौवा पुग्न ३ घण्टा ३६ मिनेट समय लाग्ने डा. सुवेदीले बताए ।
यो केबलकारमा ‘मेन्डेटोरी’, ‘अप्शनल’ र ‘डेड’ गरेर तीन प्रकारका स्टेशन रहनेछन् । मुक्तिनाथको रानीपौवासम्म पुग्दा ६ वटा ‘मेन्डेटोरी स्टेशन’ रहने छन् । ९ वटा ‘अप्सनल स्टेशन’ राख्ने योजना छ ।

८० किलोमिटर दूरीका लागि ४२० वटा ‘टावर’ र करिब ७६५ वटा डिब्बा रहने सुवेदीको भनाइ छ । एउटा डिब्बामा १० जना मानिस बस्न सक्ने छन् ।
अहिलेको अवस्थामा करिब ५५ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ । नोपालमा आयोजना तथा परियोजना निर्माण धेरै झमेला रहेको र आफूहरूले त्यो भोगिरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले यो आयोजनालाई आफ्नो नीति तथा कार्यक्रममा राखेर निजी क्षेत्रबाट सञ्चालित प्रादेशिक गौरवको आयोजनाका रूपमा राखेको उनले जानकारी दिए ।