पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेपालमा सोमबारदेखि मानसुन सक्रिय

२०८० आषाढ ३०, शनिवार २१:४१ बजे

काठमाडौं–हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबारदेखि केही मात्रामा कम वर्षा भएको छ । शनिबार र आइतबारको तुलनामासोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ’, उनले भने । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए ।

सङ्घीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।