पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

शेष घलेको शेराटन होटल निर्माण पुरा हुन सकेनन्, बिक्री गर्न ग्राहक खोज्दै!

२०८१ आषाढ १२, बुधवार ०७:१८ बजे

काठमाडौं- चर्चित गैर आवासिय नेपाली शेष घलेले केशरमहलमा सन् २०१४ देखि निर्माण गरिरहेको शेराटन होटलको निर्माण अझै सम्पन्न भएको छैन । २०१८ मै सम्पन्न गर्ने विश्वास गरिएको शेराटन होटलको काम दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।

अष्ट्रेलियाकै बहुचर्चित धनी शेष घले र निजकी श्रीमती जमुना घलेले नारायणहिटी राजदरवारदेखि पश्चिमतर्फ निर्माण गरिरहेको १९ तल्ले भव्य महलको निर्माण अझै पुरा भइसकेको छैन । पछिल्लो पटक भवनमा सिसा लगाउने काम भइरहेको छ । यद्यपि सो कार्य अझै पूर्ण हुन सकेको छैन । होटलको अन्य इन्टेरियर डिजाइनिङ् लगायतका कामहरु थुप्रै बाँकी छ ।

शेराटन होटलका लागि घलेले चिनियाँ तथा भारतीय लगानीकर्ताहरुसँग केही चरणमा वार्ताहरु भइरहेको बताइन्छ । यद्यपि सो सम्बन्धमा शेष घलेले भने औपचारिक रुपमा केही बताएका छैनन् । सोमबार भवन निर्माणस्थलमा पुग्दा केही कामदारहरु काम गरिरहेका थिए । तर, पछिल्लो समय भवन निर्माण अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको छ । उक्त भवनमा विगत दुई वर्षदेखि सिसा लगाउन थालेको भएपनि अझै सकिएको छैन ।

भवन निर्माण सम्पन्न गरी गुरुयोजना अनुसार होटल सञ्चालन गर्न अझै पाँच अर्ब हाराहारी रकम लाग्ने र सो लगानी थप गर्नुको साटो बिक्री गरेर अन्यत्र नै लगानी गर्न चाहेको बताइन्छ । शेष घले र जमुना घलेले २०७१ साल असोज २४ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्न चार वर्षमा निर्माण सम्पन्न हुने, शत प्रतिशत बैदेशिक लगानी रहेन बताइएको थियो । १९ तल्लाको उक्त होटलमा २२५ कोठासहित अत्याधुनिक हल तथा अन्य सुविधाहरु बनाउने कुरा उल्लेख गरिएको थियो । सिंगापुरमा डिपिआर बनाइएको उक्त भवन अहिले बनाउँदै जाँदा अनुमानित लागतभन्दा झण्डै दोब्बल खर्च हुने भएपछि घले दम्पत्ति तनावमा पर्न थालेका छन् ।

कूल आठ अर्बमा निर्माण सम्पन्न गर्ने भनिएको शेराटन होटलको लागत पनि बढेर करिब १५ अर्ब पुग्न लागिसकेको छ । १० अर्बभन्दा बढि रकम खर्च गर्दा पनि होटल तयार नभएपछि शेष घले बन्दाबन्दैको होटल बिक्री गर्ने मनस्थितिमा पुगेको बताइन्छ । शेष घलेले पटक पटक ऋण लिन खोज्दा नेपालका बैंकहरुले ऋण दिन समेत नपत्याएपछि होटल निर्माण सुस्त गतिमा अघि बढिरहेको छ । नेपालमा निर्माण भइरहेको उक्त होटल निर्माण सम्पन्न भएको भए शेराटन होटलको विश्वव्यापी चेन होटलको रुपमा सञ्चालनमा आइसकेको हुने थियो । तर, भुकम्प, कोभिड र विश्वव्यापी रुपमा उत्पन्न आर्थिक संकटका कारण शेष घलेले शेराटन होटलको निर्माण सम्पन्न गर्न कठिनाई परिहेको छ ।

लैनचौर केशरमहलको बीचमा १३ रोपनी जग्गामा निर्माण हुँदै गरेको शेराटन होटलले केशर पुस्तकालयको जग्गा हडपेको भन्दै विवादमा समेत परेको थियो । विवादका बीच अघि बढिरहेको शेराटन होटलको निर्माण अहिले विश्वकै अत्याधुनिक युनिटाइज्ड फसाद नामक सिसा जडान गर्ने कार्य भइरहेको छ । सो सिसाको मूल्यमात्रै एक अर्ब २० करोडभन्दा बढि पर्ने जनाइएको छ । शेष घले र उनकी श्रीमती जमुना घलेले सञ्चालन गरेको एमआईटी होल्डिङको नाममा उनीहरुले नेपालमा लगानी गरेका हुन् । खासमा शेष घले नेपालबाट छात्रवृत्तिमा रसिया अध्ययनका लागि जाने विद्यार्थी हुन् । मध्य नेपालको लम्जुङ घर भएका शेष घलेले नेपाल फर्केर सडक विभागमा केही समय काम समेत गरेर सन् १९९० मा अष्ट्रेलिया बसाई सरेका थिए । अहिले पनि शेष घले अष्ट्रेलियाका १५७ औं नम्वरका धनी व्यक्ति हुन् । उनको कूल सम्पत्ति ९०० मिलियन डलर रहेको जनाइएको छ । यसअघि सन् २०१९ मा १।१८ बिलियनका मालिक बनेका घलेको आम्दानी पछिल्लो समय घट्ने क्रममा रहेको छ । अष्ट्रेलियामा उनले मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी नामक कलेज सञ्चालन गर्दै आएका छन् ।

सन्दर्भ सामग्री बीमा पोष्टबाट