पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

२०८१ माघ १४, सोमवार ०९:११ बजे

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ।

आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे ।

खेलमा सुरुवाती अग्रता टोटनहमले लिएको थियो । घरेलु टोलीका लागि खेलको ३३औं मिनेटमा रिचार्लिसनको गोल गरेका थिए । टोटनहमले पहिलो हाफ १-० कै अग्रतामा सकाएको थियो । तर, टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन ।

दोस्रो हाफमा लेस्टरले सुरुवाती ५ मिनेट भित्रै दुई गोलका साथ खेलमा पुनरागमन गरेको थियो । खेलको ४६औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए ।

खेलको ५०औं मिनेटमा आनौसले लेस्टरका लागि गोल गरे । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेस्टरले स्पष्ट ३ अंक बटुल्यो ।

जितसँगै लेस्टर २३ खेलमा १७ अकं जोडेका लिगको १७औं स्थानमा छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १५औं स्थानमा छ ।

लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १-१ को बराबरीमा रोकिए । म्यानचेस्टर युनाइटेडले फुलहममाथि १-० को कठिन जित निकालेको छ ।