पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

दक्षिण अफ्रिकालाई हराउँदै भारत १७ वर्षपछि ट्वान्टी–२० विश्वकप च्याम्पियन

२०८१ आषाढ १६, आइतवार ०७:१५ बजे

काठमाडौं–टी–२० विश्वकप २०२४ को उपाधि भारतले हात पारेको छ । दक्षिण अफ्रिकाविरुद्ध भारत ७ रनले विजयी भएको हो ।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सकेपछि भारत विजयी भएको हो। भारत सन् २००७ पछि दोस्रोपटक विश्वविजेता बनेको हो ।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर र लगतै ऋषभ पन्त शून्य रनमै आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो । ३ रन बनाएका सूर्यकुमार यादव पनि कागिसो राबाडाको बलमा आउट भएपछि भारत अझ दबाबमा देखिएको थियो ।
तर, कोहली र अक्षर पटेलको जोडीले ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो । पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।
शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।