पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

आज प्रतिनिधिसभाको बैठक बस्दै

२०८१ जेष्ठ ११, शुक्रवार ०६:५५ बजे

फाइल तस्बिर ।

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवायलयले बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद् सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन ।
सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।
सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । तर, पछिल्लो समय कांग्रेसको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पनि कांग्रेसको नाराबाजीबीच लिएका लिएका थिए ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्नेबाहेक अन्य ६ वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।