पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

२०८१ वैशाख ९, आइतवार ०६:५८ बजे

एजेन्सी – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

सिटीले शनिवार चेल्सी माथि १-० को झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो । सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो।

खेल अवधिभर सिटीले निकै मौका खेर फालेको थियो । पहिलो हाफमा दुवै टोलीबाट मौकाहरु सिर्जना नभएपनि दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन देखिएको थियो ।

सिटीले आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २-१ ले हराउँदै उपाधि जितेको थियो ।

सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ । ६ खेल बाँकी रहँदा सिटीको ७३ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनलको र तेस्रो स्थानको लिभरपुलको समान ७१ अंक छ । गत सिजन ट्रेबल जितेको सिटी यसपटक भने च्याम्पियन्स लिगबाट गत साता बाहिरिएको थियो। रियल म्याड्रिडसँग पराजित हुँदै सिटी क्वाटरफाइनलबाट बाहिरिएको थियो ।