पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

मधेसका मुख्यमन्त्री सुनिश्चतता खोज्दै जसपा र जनमत, प्रधानमन्त्री प्रचण्ड अप्ठयारोमा

२०८० फाल्गुन २३, बुधबार १५:४३ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरू भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुबै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाइ दुबै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।
सोही बिषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतयाः मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्दता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु पर्ने भन्ने बहुमत सदस्यले धारणा राखे पछि जसपाको आजको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुंगिन पुगेको हो । कुनै निर्णय गर्न नसके पछि सोको सुनिश्चितता खोज्न बैठक लगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द श्रेष्ठलाइ लिएर वालुवाटार गएका थिए । उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाइ पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।
यसअघि एमालेसहितको गठबन्धन हुदाँ २०७९ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।
‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन । जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक संकटमा परेका छन ।