पाठशाला न्यूज
 २०८१ जेष्ठ ९, बुधवार    

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८० फाल्गुण ११, शुक्रवार ०९:०७ बजे

काठमाडौं : प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बिहीबारको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो । तर गणपूरक संख्या नपुगेपछि आजसम्मका लागि बैठक स्थगित भएको थियो ।
हिजोको बैठकमा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र उपस्थित देखिएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।
आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सबन्धी समितिको प्रतिवेदन २०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।