पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

चलचित्र राजागन्जमा दयाहाङसंग मिस नेपाल निकिता चाण्डक

२०८० आषाढ १७, आइतवार २१:५० बजे

काठमाडौँ –दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म शो ‘राजागन्ज’ । फिल्मको मुख्य भूमिकामा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई देखिने भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा निकिता र दयाहाङ फाइनल भएको जानकारी दिएको छ ।
यसअघि ‘हाईवे’ र ‘ह्वाइट सन’ निर्देशन गरेका रौनियारको यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । फिल्म पुलिस थ्रिलर कथामा बन्न लागेको हो ।
फिल्ममा निकिता र दयाहाङको अलवा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको अभिनय रहनेछ ।
निर्माता गुरुङले निर्देशक रौनियार आफू फिल्म क्षेत्रमा काम गर्दादेखिकै साथी रहेको बताउँदै पहिलो पटक सहकार्य गर्ने अवसर जुरेको बताए ।
अभिनेता विराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निकिताको ‘राजागन्ज’ दोस्रो फिल्म हुनेछ । आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको प्रस्तुति रहने फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ ।