पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

नेपाली र अमेरिकी ठग्ने दुई गिरोहका नाइकेहरू बीच साँठगाँठ

२०८० जेष्ठ ३२, बिहीवार २२:३५ बजे

काठमाडौँ — इन्टरनेट फिसिङ जालसाजी बाट अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम नेपाल ल्याउने र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम उठाउने दुई गिरोहका नाइकेहरूबीच साझेदारी रहेको पुष्टि भएको छ । विडम्बना के छ भने यी कसुरमा संलग्न दुवै गिरोहलाई देशको शक्तिशाली राजनीतिक तप्काको संरक्षण थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम संकलन गर्ने केशव दुलाल र सानु भण्डारीसहितको गिरोहसँग पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहितका उच्चपदस्थको मिलेमतो थियो ।
त्यस्तै धोकाधडी गरी ५६ जना अमेरिकी नागरिकको खाताबाट ६३ करोड ४६ लाख रुपैयाँ नेपाल ल्याउने पृथ्वी शाहको गिरोहलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षण थियो । नक्कली शरणार्थी प्रकरणका नाइके भण्डारी र वित्तीय ठगीका नाइके शाहबीच साझेदारी रहेको पुष्टि भएको छ ।

फरक–फरक अभियोगमा शाह र भण्डारी थुनामा छन् । उनीहरूबीच ठगी कारोबार साझेदारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । फोन, इमेल तथा एसएमएसबाट जालोमा पारी अमेरिकी नागरिकको पैसा ल्याएको आरोपमा गत पुस २२ मा पक्राउ परेका शाह पुर्पक्षका लागि कारागारमा छन् । नक्कली शरणार्थी प्रकरणका नाइके भण्डारी पनि गत चैत १२ मा पक्राउ परेयता हिरासतमा छन् ।
अमेरिकी नागरिकहरूलाई इमेल, फोन र एसएमएसबाट जालोमा पारी उनीहरूको खाताको रकम सिधै नेपालका विभिन्न कम्पनीमा जम्मा गरिएको थियो । यसका लागि शाहको गिरोहले टुर्स एन्ड ट्राभल र रेमिट्यान्सको बहानामा १४ कम्पनी खडा गरेको थियो, तर ती सबै कम्पनीको प्रयोजन व्यवसाय होइन, ठगी थियो ।

ठगी प्रयोजनका लागि खोलिएको वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालिमा शाहका साझेदारका रूपमा सानुकी श्रीमती अञ्जना रजक भण्डारी पनि छिन् । कम्पनीमा अञ्जनाका नाममा १८ हजार ७५० कित्ता र पृथ्वीका भाइ विजयविक्रमका नाममा ६ हजा २२५ कित्ता सेयर छ । विजय पनि पुर्पक्षका क्रममा कारागारमै छन् ।

गिरोहले ‘इन्टरनेट फिसिङ’ बाट अमेरिकी नागरिक डार्लेन पेड्रोन्सेली, स्टेफेन रशेल फार्मर, गिल्बर्टो एच गोन्जालेज, राजिन्दर सिंह ब्रार, डेभिड माइकल फ्रिम्यान, इर्भिङ इ गोशेल, इब्राहिम वाई जाब्रा, एल्भिरा एस रामिरेस, राफेल डोनेज, एन्थोनी मार्टुकी, न्यान्सी जे आइफर्ट, क्याथरिन एल ग्रिनसहित ५६ जनाको रकम चोरी गरेको थियो । सन् २०१७ को अप्रिलदेखि २०२२ को जुलाईसम्म ७३ पटक कारोबार गरी ४५ लाख ४६ हजार अमेरिकी डलर, ३ लाख ४० हजार क्यानेडियन डलर र २२ हजार पाउन्ड स्ट्रर्लिङ गरी ६३ करोड ४८ लाख रुपैयाँ नेपाल ल्याइएको थियो ।

पैसा ल्याउन शाहको गिरोहले पे यु सेन्टर, यु क्यास सर्भिस, टाइम्स टुडे पिस होलिडे, वर्ल्ड फर्स्ट होलिडे, वर्ल्ड एट वर्क कन्सल्टेन्सी, फोर्टिन पिक रिजर्भ कम्पनी खोलेको थियो । त्यस्तै यही गिरोहले वर्ल्ड एक्सपोर्ट एन्ड इन्पोर्ट प्रालि, वर्ल्डवाइड रेमिट, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट, हन्टिङ रिजर्भ अफ नेपाल, कैलाश एक्जिम, माउन्टेन अपार्टमेन्ट र रोयल न्युल्यान्ड भेन्चर पनि चलाएको थियो । यी कम्पनीका नाममा भित्रिएको ६३ करोड ४८ लाख रुपैयाँ ठगीको भन्दै अमेरिकाको ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ ९फिनसेन० ले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो । उक्त रकम भुक्तानी नदिन, अनुसन्धान गरी अमेरिका नै पठाउन फिनसेनको आग्रह आएपछि राष्ट्र बैंकको वित्तीय सूचना केन्द्र ९एफआईयू० ले खाता रोक्का गरिदिएको थियो ।

अनुसन्धान जारी रहेकै बेला यो रकम खुलाउन भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चैत २०७८ मा राष्ट्र बैंकलाई सोझै पत्र लेखेका थिए । राष्ट्र बैंकको स्वायत्ततामा अर्थमन्त्रीको अनधिकृत हस्तक्षेपबारे कान्तिपुरले समाचार लेखेपछि उत्तेजित शर्माले सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन्, अन्याय पर्‍यो भने बोलिदिने काम हाम्रो होइन रु’ अनुसन्धान प्रभावित गर्ने गरी विज्ञप्ति जारी गरेर उनले शाहले ल्याएको पैसा वैदेशिक लगानी भएको दाबी गर्दै नेपालमा लगानीको वातावरण बिगार्न समाचार लेखिएको आरोपसमेत लगाएका थिए ।

अनुसन्धान रोक्न र गिरोहले ल्याएको रकम खुलाउन आतुर देखिएका शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्बाट निलम्बन नै गराएका थिए । उनलाई बर्खास्तसमेत गर्ने उद्देश्यले शर्माका दाजु नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको थियो । तर, सर्वोच्च अदालतले कारबाही गैरकानुनी भन्दै अधिकारीलाई काममा फर्कन निर्देशन दिएको थियो । अनुसन्धान अघि बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले शाहलाई पक्राउ गरी संगठित अपराधमा मुद्दा दायर गरेको हो । सोही कसुरमा सानुकी पत्नी अञ्जना फरार छिन् । आवरणमा अञ्जना देखिए पनि सानुले नै शाहसँग कारोबार गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

गैरकानुनी धन्दामा संलग्न व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले कान्तिपुरसँग भने, ‘सम्पत्ति शुद्धीकरण विभागले पनि वित्तीय अपराधमा संलग्नको सम्पत्ति अनुसन्धान गर्न पत्र पठाएको छ, त्यहीअनुसार हामीले पनि अनुसन्धान अघि बढाइसकेका छौं ।’

शाहसहितको गिरोहले कम्पनी खडा गरी अवैध धन लगानी गरेको अनुसन्धानबाट खुलेको छ । पृथ्वी, उनका भाइ विजयविक्रम, अञ्जनासहितका व्यक्तिले १६ करोड ३० लाख ८० हजार मूल्य देखाएर १३ ठाउँमा जग्गा किनेका थिए । त्यसबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

तर, सम्बन्धित देश ९अमेरिका० को सरकारी निकायले धोकाधडीको पैसा भनेर पत्राचार गर्दागर्दै पनि अनुसन्धान रोकेर तथा गभर्नरलाई कारबाही गरेर समेत पैसा छुटाउन शर्माले लिएको अग्रसरताका बारेमा अहिलेसम्म अनुसन्धान भएको छैन । ‘त्यतिबेला उनी आफैं अर्थमन्त्री थिए, अहिले पनि माओवादी नेतृत्वको सरकार छ, त्यसैले उहाँमाथि अनुसन्धान भएको छैन । यो सरकारको जवाफदेहिताको प्रश्न हो, निर्देशन नपाएसम्म प्रहरीले केही गर्न सक्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।