पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

२०८० माघ १, सोमवार १५:३२ बजे

जलेश्वर सर्राफ
काठमाण्डौ : गत २० पुसमा सर्लाहीको बरहथवामा भएको घटना छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सह–सचिव थानेश्वर गौतमले आइतबार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका थिए। यसअघि सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो । उक्त समितिले गोली प्रहारमा संलग्न बारा जिल्ला निवासी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको उनले जानकारी गराएका छन्। ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हवल्दार मेजर पदमा कार्यरत सोनेलाल यादवले गोली प्रहार गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन्। छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीमा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न पनि सिफारिस गरिएको बारे ति अधिकृतले जानकारी दिएका छन् ।

समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय समेत गरेको छ ।