पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

भारतीय सेयर बजारमा ‘क्र्यास’ लगानीकर्ताको १३ खर्ब भारु डुब्यो

२०८० चैत्र १, बिहीवार ०९:०३ बजे

नयाँ दिल्ली : भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो ।
दिउँसो २ः३० बजे सेन्सेक्स १ हजार ४६ अङ्कले घटेर ७२ हजार ६२१ अङ्कमा आएको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो १ दशमलव ४२ प्रतिशत कम थियो । योसँगै बीएसईमा सूचिकृत कम्पनीहरूले केही घण्टाको अन्तरालमै १२ खर्ब देखि १३ खर्ब भारुबिचको बजार पुँजीकरण गुमाए । अर्को प्रमुख शेयर परिसूचक निफ्टी १ दशमलव ७४ प्रतिशत अर्थात् ३८८ अङ्कले घटेर २१ हजार ९४७ अङ्कमा आएको थियो । अन्य सूचकाङ्कहरू पनि रक्ताम्मे थिए ।
अघिल्लो रात अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेका थिए । यो वृद्धिलाई बेवास्ता गर्दै भारतीय बजारमा भने हाहाकार देखियो । मार्चमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयर किन्न थालेका थिए । यो महिनाको अहिलेसम्मको अवधिमा ३ खर्ब लगानी भित्रिएको थियो । यस्तोमा शेयर बजार रक्ताम्मे हुनुमा बाह्य भन्दा पनि आन्तरिक कारणहरू जिम्मेवार देखिएका छन् ।
हालैका दिनमा सेबी प्रमुखले मिडक्याप र स्मल क्याप शेयरबारे चिन्ता व्यक्त गरेका थिए । यी शेयरहरूमाथि हेराफेरीको सङ्केत मिलेको भन्दै उनले यिनीहरूमाथि वक्रदृष्टि राख्ने बताएका थिए । एसएमईहरूको आईपीओमा पनि गडबडीको सङ्केत भएको बताइएको थियो । यसप्रति उनले लगानीकर्ताहरूलाई सतर्क रहन भनेका थिए । सेबीको यो अभिव्यक्ति पछि शेयर बजारको मनोबल फेरिएको हो । यसकै असरले बजारमा सेल अफ देखिएको हो ।