पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

महुरे–फोक्सिङटार सडक ७ वर्षदेखि अलपत्र

२०८० चैत्र २२, बिहीबार ०९:५३ बजे

खोटाङ : दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ ।
दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४८ किलोमिटर) सडक दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो । महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धि शाही जेभीले ठेक्का लिएको थियो । सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो ।
भारत कन्ट्रक्सन–सिद्धि शाही जेभीले २०७७ असार २९ गते सम्पन्न गर्ने गरी २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन । भ्याटबाहेक ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ ।
सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । भ्याटबाहेक ५५ करोड ८७ लाख रुपैयाँमा २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो ।
शुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयवासीको भनाइ छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए । काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयवासीले २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए ।
करिब १३४ किमी लामो दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किमी) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि दुई अर्ब ६८ करोड बजेट बजेट विनियोजन गरेको थियो ।
फोक्सिङटारस्थित सुनकोसी नदीमा मोटरेबल पुल निर्माण भए पनि सडक कालोपत्र नहुँदा वर्षमा ६ महिनासम्म यातायात अवरुद्ध हुने गरेको छ ।