पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

२०८० फाल्गुन ५, शनिबार ०९:०८ बजे

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले सरकार दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।
गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । सरकारबाट जनमत पार्टीको बहिगर्मनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात् फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाएका छन् ।
१०७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा छन् ।