पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

आज पशुपतिनाथ मन्दिर दर्शनका लागि भीआईपी पास बन्द

२०८० फाल्गुन २५, शुक्रबार ०९:१९ बजे

काठमाडौं : महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।
विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।
तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ ।
पहिले चार वटा ढोकामा चारवटा र्याम्प दर्शनका लागि प्रयोग हुन्थ्यो भने यसपालि फरक छ । उत्तरतर्फ तीनवटा र्याम्प बनाइएको छ । यसैगरी पूर्व, पश्चिम र दक्षिणतर्फबाट दुई–दुईवटा र्याम्प बनाइएको छ ।

बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि आठ नम्बर वडा कार्यालयसँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।