पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन चर्किंदै

२०८१ वैशाख २०, बिहीवार ०७:१६ बजे

एजेन्सी : अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनमा सहभागीहरुमध्ये ३०० जना पक्राउ परेका छन् । केही विश्वविद्यालयहरुमा तोडफोड र प्रहरीसँग झडपसमेत भएको छ ।
समाचार एजेन्सी एपीका अनुसार क्यालिफोर्निया युनिभर्सिटीमा १५ जना घाइतेसमेत भएका छन् ।
इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोधमा अमेरिकाका हरेकजसो विश्वविद्यालयहरुमा साना–ठूला प्रदर्शन हुँदै आएको छ । केही स्थानमा झडप र तोडफोड भएको समाचार आएका छन् ।
बीबीसीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्युयोर्कमा ३०० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार कोलम्बिया युनिभर्सिटीले निवेदन दिएपछि त्यहाँ बस्दै आएका विद्यार्थीहरुविरुद्ध अभियान चलाएको र गिरफ्तार गरिएको जनाएका छन् ।
युनिभर्सिटीभित्र बसेर प्यालेस्टाइन समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए । तर त्यो प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले कारबाही अभियान चलाएको हो ।
न्युयोर्कका मेयरले शहरका अन्य स्थानको सुरक्षालाई पनि ध्यान दिँदै प्रहरीले कारबाही अभियान चलाउने बताएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भए पनि हुलहुज्जत, तोडफोड र शान्ति सुव्यवस्थालाई खलल पार्न नहुने उनको भनाइ छ ।
विद्यार्थीहरुले न्युयोर्क, टेक्सस, कोलम्बिया, जर्जवाशिङ्गटन, इन्डियाना युनिभर्सिटी अफ पेन्सेल्भेनिया लगायतका स्थानमा प्रदर्शन गर्दै आएका छन् ।
जर्जवाशिङ्गटन युनिभर्सिटीमा विद्यार्थीहरुले गरेको प्रदर्शनमा समर्थन जनाउन रिपब्लिकन सांसदहरुसमेत पुगेका थिए ।
टेक्सस युनिभर्सिटीमा एकजना पत्रकारसमेत पक्राउ परेका थिए तर पछि उनी रिहा भएका थिए ।
प्यालेस्टाइनको पक्षमा अमेरिकासँगै इजिप्टको कायरो, फ्रान्सको पेरिस, अष्ट्रेलियाको सिड्नी लगायतका स्थानमा पनि प्रदर्शन हुँदै आएको छ ।