पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

सर्वोच्चको आदेशविरूद्ध विराटनगरमा मसाल जुलुस

२०८० जेठ २१, आईतबार २०:३० बजे

काठमाण्डौं–नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ।
नयाँ कानुनअनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो।

यसरी जिल्ला–जिल्लाबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो।

सर्वोच्चको आदेशले आफूहरू थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरे।
सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने बताएका थिए ।