पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

पूर्वमन्त्री एवं कांग्रेस नेता बुढाथोकीको निधन

२०८० माघ २३, मङ्गलवार ०९:०६ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा सोमबार राति निधन भएको बताइएको छ ।
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए ।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन् ।
बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै देउवाले उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै, सभामुख देवराज घिमिरेले पनि बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुढाथोकी नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ रहेको उल्लेख गर्दै सभामुख घिमिरले उनको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।