पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात

२०८० कार्तिक २, बिहीवार १०:३४ बजे

काठमाडौं : चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।
हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।