पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

मेयर पत्नी काफ्लेमाथि अनावश्यक केरकार गरियो : महानगर

२०८० भाद्र १८, सोमवार १०:०७ बजे

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।
शनिबार राति फेसबुक मार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।
बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।
आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किंदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।

सार्वजनिक बिदाको दिन प्रयोग गर्न मिल्ने अनुमति लिएको भए पनि त्यतिबेला गाडीमा थिएन । ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गर्यो’ विज्ञप्तिमा भनिएको छ ।
प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।