पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

रवि लामिछाने बिरुद्ध पक्राउ पुर्जी जारी भएको आशङ्कामा रास्वपा केन्द्रिय कार्यलयमा आकस्मिक भेला

२०८१ आश्विन ६, आइतवार २०:१५ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको आशङ्कामा राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यका केन्द्रित कार्यकर्तालाई केन्द्रीय कार्यालयमा म्यासेज गरि आकस्मिक रुपमा बोलाएको छ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको एक स्रोतले बताएतापनि पुष्टि हुन भने बाँकी रहेको छ ।

पक्राउ पुर्जी जारी भएको आशङ्कामा रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले जरुरी पक्राउ पुर्जी थमाउँदै पक्राउ गरेकोछ।

रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताका अनुसार प्रदेश सभापतिले मेसेज गरेपछि आफुहरु केन्द्रिय कार्यलयमा भेला भएको जनाएका छन्।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु हाल पार्टी कार्यालय बनस्थलीमा भेला भएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले उक्त भेला डाकेको हो ।

यसअघि संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।