पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

आज गभर्नर अधिकारीको शैक्षिक योग्यता मुद्दामा सुनुवाइ

२०८० पौष १३, शुक्रबार ०९:२१ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले हिजो रिट निवेदन दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता ऐनबमोजिमको नभएको जिकिर गर्दै तत्काल पदबाट हटाउन रिटमा माग गरिएको छ ।
अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको दाबी रिटमा गरिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यताका विषयमा यसअघि पनि लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले सर्वोच्चमा रिट दायर गरेका थिए। तर सर्वोच्चले रिट निवेदनको औचित्य सकिसकेको भन्दै थप आदेश जारी गर्नु नपर्ने फैसला गरेको थियो ।

त्यसयता सेलाएको यो विषय पुनः अदालत पुगेको हो। सरकारले ०७६ चैत २४ मा अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । रिटमा मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।