पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

२०८० चैत्र ३०, शुक्रबार १८:०४ बजे

बिशाल बस्नेत

महोत्तरी- महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ ।

नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुँदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

'रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन् भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा कसैले कुनैपनि चासो देखाउनु भएको छैन ।' स्थानीय हिरालाल महतोले भने । 'नदी त सखाप नै बनाएर वातावरणमा प्रतिकुल असर पार्नेगरी तस्करहरु लागी परेका छन् ।'

स्थानीयहरुका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उद्योग छन्, त्यसमध्ये ९ वटा सञ्चालनमा छन्। क्रसरहरुले नै राति-राति अवैध उत्खनन् गर्ने गरेको र केही ट्याक्टर धनीहरुले समेत उत्खनन् मा सहभागी हुने गरेको स्थानियहरुको दाबी छ ।

नगर क्षेत्रमा अवैध उत्त्खनन् भईरहेको वडा नं ४ का वडा अध्यक्ष गणेश महतोले समेत स्वीकार गर्छन । 'कयौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ  तर उनीहरु टेर्ने अवस्थामा छैनन् ।' अध्यक्ष महतोले भने ।'कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन् त्यो अत्यन्त दु:खद छ ।'  

बान्द्रा र प्रेमनगर विचमा पर्ने जङ्गल क्षेत्रमा निक्कै भयावह ढङ्गले दोहन भएको उनको भनाई छ । जङ्गल क्षेत्रमा दोहन भएपछी जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको बताउदै अध्यक्ष महतोले सरोकारवालाहरुको मौनतामाथी शंका उत्पन्न भईरहेको बताएका छन् ।

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको बिषयमा आफुहरु जानकार रहेको र त्यसको बिषयमा स्थलगत अनुगमन समेत गरिसकेको बताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछी पनि स्थानीय क्षेत्रबाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर प्रारम्भिक प्रक्रियामा अगाडी बढीसकेको जनाएका छन् ।

'अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजि जग्गाबाट माटो उत्खनन् गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया बिना उत्खनन् गर्न नमिल्ने भनेर सचेत गराईसकेको छौ ।' प्रमुख झाले भने ।'नत्र कानुनि प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ ।'

नगर क्षेत्रमा भईरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण गराएको छ । कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने बताउदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भईरहेको दोहनको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रशासनको शंकास्पद भुमिका

स्थानियहरुले प्रशासनको भुमिकामाथी भने प्रश्न उठाएका छन् । नजिकमा रहेका प्रहरीहरुलाई खबर गर्दा उल्टै टिपर तथा उत्खनन् स्थलबाट भगाउने गरेको स्थानियहरुको दाबी छ ।

स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौ पटक खबर गर्दा पनि मौन रहेको बताए । 'म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन् ।' महतोले भने ।'घर नजिकै छ रातभरी खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिदैन ।'

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको वताए । 'हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ ।' उनले भने । 'यो बिषय समन्वय समितिलाई जानकारी गराएका छौ ।'   

प्रशासनको नै मिलोमतोमा दोहन भईरहेको बिषयलाई अन्य स्थानियहरुले पनि आशंका गरेका छन्। त्यहीँका स्थानीय राजीव साहले प्रहरीको नै मिलोमतोमा तस्करी भएको दाबी गरेका छन् ।