पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

इजरायलमा निधन भएकामध्ये ४ नेपालीको शव नेपाल ल्याइँदै

२०८० कार्तिक ३, शुक्रवार २२:०४ बजे

काठमाण्डौं : दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव शनिबार नेपाल ल्याइने भएको छ ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ । उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ ।
इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको छ । तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो ।
अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ । त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।