पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मेरी सर्भिसका डा.यादव बिरामी झुक्याउदै रकम असुली धन्दामा

२०८० माघ १, सोमबार १२:०० बजे

जलेश्वर सर्राफ

पर्सा : वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोड स्थित मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई सेवा दिनुको सट्टा रकम असुली धन्दामा लागेको पाईएको छ ।
गत पुस २३ गते वीरगंज महानगरपालिका वडा नं. १७ निवासी एक महिलाले आफ्नो बन्ध्याकरण गराउन मेरी स्टोप्स सर्भिसमा पुगेकी थिईन् तर ती महिला लाई झुक्याएर मेरी सर्भिसका दलालहरुले मेरी सर्भिसमा पुर्याएका थिए । बन्ध्याकरण गराउन पुगेकी महिलासँग कागजमा दायाँ बाँया ल्याप्चे लगाएर भर्ना गरिएको थियो । ती महिलालाई भर्ना भएको केही क्षणमै अपरेशन थिएटरमा लगी डा. राम नरेश यादवले बन्ध्याकरण अर्थात (मिनी ल्याब) गरेका थिए । बन्ध्याकरण पश्चात बेलुकी बिरामीलाई घर पठाउनको निम्ति डिस्चार्ज गरियो । डिस्चार्ज गरी बिरामीलाई घर लैजाने क्रममा बिरामीका श्रीमान मेरी सर्भिस सेन्टर (क्लिनिक)मा पुग्दा एक व्यक्तिले तपाईको बिरामीको बन्ध्याकरण पूर्ण रुपमा सफल नभएको बताउँदा उनी आश्चर्यचकित भए । उनले सो विषयमा अस्पतालका कर्मचारी, प्रशासन र डाक्टरसँग बिरामीका बिषयमा सोधपुछ गर्दा त्यहाँका कर्मचारीले सबै ठिक छ, त्यस्तो केही पनि नरहेको भनि ढाँटे । पछि श्रीमानले बुझ्दै जाँदा बन्ध्याकरण गर्दा दुई वटा फ्लोपेन ट्युब (नशा) हुन्छ, त्यसमा एउटा मात्र नशा बन्द गरिएको र अर्को नशा खुल्लै छोडेका डा. यादवको लापरवाही भएको देखियो ।
घटना भए पश्चात पिडितका श्रीमानले मेरी सर्भिस सेन्टरका प्रशासन हेर्ने (बाउन्सरको रुपमा कार्यरत्त) संदिप चौरसियासँग बुझ्दा कुनै बिरामीको केश बिग्रेमा हामीले बिरामीबाट असुलेको रकम फिर्ता गर्छौ भन्दै पिडितका श्रीमानलाई फकाउने प्रयास गर्दा उनले म कानुनी उपचारमा जान्छु भन्दा चौरसियाले अभद्र व्यवहार गर्नुका साथै हातपात गर्ने प्रयास समेत गरेको पिडितले दुःखेसो पोखेका छन् ।
सो क्लिनिकमा त्यस्तो कैयौं घटना भैसकेको स्वयं अस्पतालका चिकित्सक यादवले स्वीकार गरेका छन् ।
क्लिनिकले एउटै बिरामीसँग बन्ध्याकरणमा दुई पटकसम्म रकम असुल्ने गरेको खुलेको छ । रकमकै लागि बिरामीको ज्यानसँग खेलवाड गर्ने यस्ता क्लिनिक र डाक्टरमाथि बिरामीका श्रीमानले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखामा निवेदन दर्ता गराई कडा कारवाहीको लागि माग समेत गरेका छन् ।
कम्पनि रजिष्ट्रारको कार्यालयमा वीरगंज मेरी स्टोप्स हेल्थ केयर नामले दर्ता गरिएको छ । स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट लालबन्दी–१ सर्लाही बस्ने संगिता कुमारीको नाममा दर्ता गराई १० हप्ता सम्मको गर्भपतन सेवा गर्न मात्र अनुमति लिएको मेरी सर्भिस सेन्टरको कार्यालयमा झुण्डयाईएको प्रमाणपत्रमा उल्लेख छ । अनुमति लिएकी व्यक्ति वीरगंज बाहिर कार्यरत्त रहेको र उनको प्रमाणपत्र मात्र राखी सेवाग्राहीहरुलाई झुक्याई मेरी सर्भिस सेन्टरले बिरामीको स्वास्थ्यसँग खेलवाड गर्दै रकम असुल्ने गरेको बताईन्छ ।
यस सम्बन्धमा डाक्टर राम नरेश यादवसँग बुझ्दा बिरामीको कुरुवालाई परामर्श दिने व्यक्तिले जानकारी नदिएको र मैले दिनमा ८०/८५ वटा सम्म मिनी ल्याब गर्ने गर्छु भनि यो घटनामा गल्ती भएको स्वीकार गरेका छन् ।