पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

कविता-स्विकारोक्ति

२०८० जेठ २२, सोमबार ००:११ बजे

निमेष निखिल

केही त विस्मृतिको धमिलो पोतिएर होला स्मृतिका भित्ताहरूमा
स्पष्ट छैन भविष्यको छवि, सधैँ हेर्ने गरेका हत्केलाका ऐनामा
सखारै झुल्केको हो घाम हिजोअस्तिजस्तै
क्षितिज उसैगरी लिपेका हुन् बिहानी लालिमाहरूले
जोर गौँथली सदाझैँ उडेका हुन् दलिनबाट
मेरै जिम्मामा छाडेर आफ्नो घर र बचेराहरू
जब उसैगरी उभियो आँगनछेउमा–
दुई दशकअघिको साइँला दर्जीको पुरानै उदास अनुहार
लेख्दालेख्दैको मेरो कविता
केही नबोली हिँड्यो सरासर ।

बेलाबेलामा अझै आइरहन्छिन् चमेली दिदी
हाँसेरै बोल्न खोज्दा पनि धोका दिन्छन्
कहिले मनका व्यथाले, कहिले नभएको जेथाले
खसमको मृत्युपीडासित साटेको एउटै छोरो
हताहत भएदेखि मुठभेडमा
तिनका सपनाले बिर्सेका हुन् आँखाको बाटो
देख्छु जब तिनका अनुहारमा टाँसिएको छाक टार्ने उही पुरानो गर्जो
आउनै लागेको कविता फर्कन्छ फनक्क
र उनैका रसिला आँखामा प्रविष्ट हुन्छ हेर्दाहेर्दै 

हरेक दिन घरछेउको बाटो भएर जान्छ
बिदेसिने तन्नेरी भोकहरूको लर्कन
तपसिलमा बिर्सेर बाकसमा फर्कनु परेको दुखान्त
तिनका आँखाका अनिश्चित सपनामा
म नियाल्न खोज्छु यो देशको ढलपल मानचित्र
कविता उछिनेर मेरा दृष्टिको गति
तिनीहरूका झोलाभित्र प्रवेश गर्छ सुटुक्क
मलाई थाहा छ– ती झोलाभित्र
केटाकेटीको स्कुल पुग्ने गोरेटो छ
श्रीमतीका रहरहरूको पहेँलो सपना छ
छन् आमाले खाजामा हालिदिएका केही रोटी
र, सबैभन्दा डरलाग्दो छ– बिरामी बाबुको लहरे खोकी
जसमा भर्नु छ आशाको लय– अब त्यसै कविताले ।

सुदूर स्मृतिमा जसलाई देश भनेर सजाए तिनले उमेरभरि
भोक खाएर आशा हाँसे
तिर्खा पिएर तृप्ति रमाए
पोल्टामा हालेर घरकै मकै भटमास
होमिए आफ्नै शासन ल्याउने ज्यानमारा लडाइँमा
लोग्ने मर्दा बग्न दिएनन् आँसु
आँखैअघि स्वास्नी ढल्दा आगो राखे बरु आँखामा
निभाएनन् साँझबत्ती छोराछोरी बेपत्ता हुँदा
आज जब बिरानो भएको छ त्यही शासन तिनका आँखामा
भन्नुस् महोदय ! म कसरी लेखूँ कविता ?

तपाईँले खर्पनमा सजाएपछि आफ्नो इमान
अनुवाद गरेपछि तपाईँले जनसेवालाई दुहुनो गाईमा
सजाएपछि तपाईँले लालची आँखामा धृतराष्ट्र सपना
रमाएपछि तपाईँ आफन्ती मोहको मायाजालमा
लगाइदिएपछि योग्यतालाई पारदर्शी धोती तपाईले आफ्नै हातले
मैले पनि यिनै हातले च्यातेर मिल्काएको हुँ–
जीवनभर आशा र आस्था लेखेका कविताका डायरीहरू
लिइगएको हुँ आफैले छोराछोरीलाई राहदानी बनाउन ।

धेरै पछि तपाईँले आज एक्कासि सम्बोधन गर्दा ‘कविजी !’
मलाई त कुनै अर्कै ग्रहको मान्छेले
संसारकै सबैभन्दा निकृष्ट गाली गरेजस्तो पो लाग्यो ।

स्वीकारोक्तिमा यति मात्रै भन्छु– तपाईँको जानकारीका लागि
म हत्यारा हुँ !
आफैभित्रको कविलाई मारेको अभियोगमा आजकल म–
जीवनकै कठोर श्रमशिविरमा छु
र, भोगिरहेछु– बारुद खेती गर्ने सजाय ।