पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

कविता- नयाँ बर्ष

२०८१ बैशाख १, शनिबार १०:४७ बजे

कविता

नयाँ बर्ष

      - भुपी शेरचन 

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं

झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर 

छानामाथि वैशाख हिँडिरहेछ

भारी अल्छी पाइला सारेर

भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको

पदचापले

ट्वाक्....ट्वाक् .....ट्वाक्......ट्वाक् 

निस्तेज भई आकाश पल्टेको छ

न्यास्रो अनुहार पारेर

बेमौसमको बर्षात

बेला-कुबेलाको वादलको गड्याङ-गुडुङ 

आकाशलाई पखाला लागेको छ

विष्णुमतीको फोहर हैजे पानी पिएर

ट्वाँ 

सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्

हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु

मध्यान्ह दिन

चर्को घाम

सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्

फेरि एकचोटि

नयाँ वर्षआएको छ

फेरि एकचोटि

भित्ताको नयाँ क्यालेण्डरमा

आफ्नो जीवनको भिसा झुण्डयाउनु छ

फेरि एकचोटि

सँगी साथीहरुको सूचि बनाउनु छ

फेरि एकचोटि

भयानक बमहरु बोकेर, उडिरहेका हवाइजहाज

र रकेटमुनि बसेर

लेख्नु छ प्रियजनहरुको नाममा

सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।