पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

केदारनाथ पहिरोमा एघार नेपाली बेपत्ता

२०८० श्रावण २२, सोमवार १७:११ बजे

भारत –भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छ । कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको हो । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन । मन्दाकिनी नदीमा पानीको बहाव उच्च र वर्षा पनि भइरहेकाले उद्धारमा कठिनाइ भएको छ ।

केन्द्र र प्रदेश सरकार मातहतको दक्ष उद्धार टोली खोजी कार्यमा निरन्तर खटिएको बताइएको छ ।
जुम्ला पातारासी गाउँपालिका घर भएका अमर बोहराले सडक छेवैमा चलाएको होटल पहिरोले बगाउँदा त्यसमा उनको ७ जनाको परिवार तथा त्यहाँ रहेका अन्य नेपाली परेका थिए । पहिरोमा परेर होटल सञ्चालक अमर र उनकी श्रीमती, छोरा पृथ्वी र वकिल, छोरी राधिका र पिंकी हराइरहेका छन । त्यस्तै पातारासीकै धर्मराज बुढा, चन्द्र कामी, सुखराम रावत र बमबहादुर बोहरा पनि पहिरोमा परेका छन । पहिरो खसेका बेला होटल रहेको घरमा अरू पनि मानिस रहेको स्थानीयको आशंका छ । गौरीकुन्डदेखि केदारनाथसम्म यात्रुलाई घोडा, खच्चड चढाएर लैजाने, डोको पालकी बोक्ने, सरसामान बेच्ने, होटल चलाउने, मजदुरी गर्ने जस्ता कार्यमा नेपाली संलग्न छन् ।