पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

आइपीएल : राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित

२०८१ वैशाख २१, शुक्रवार ०७:५३ बजे

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को गएराति खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए ।
पहिलो ओभरमै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए । टी नटराजनको १४ औं ओभरको तेस्रो बलमा जैसवाल बोल्ड भएपछि हैदराबाद खेलमा फर्किएको थियो । शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए ।
हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
हैदराबादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए ।
ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए । राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए ।
राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ भने हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।